आकर्षक तलब सहित जागीर ग्यारेन्टी भन्दै बेरोजगारलाई ठगी गरेको आरोपमा ९ जना पक्राउ
काठमाडौं।सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमार्फत आकर्षक तलब सहित काम लगाईदिने प्रचार गरेर बेरोजगारहरुलाई ठगी गर्दै आएका विभिन्न ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। जब सेन्टरका नाममा कार्यालय स्थापना गरेर रोजगारीको प्रलोभन देखाउंदै आएका ९ जनालाई सोमबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।
यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौं-३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्।उनीहरूलाई कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले ‘घरमै बसेर जागिर मिल्छ’ भनी प्रचारप्रसार गर्ने गर्थे।
जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।

