नेपाल बारको अध्यक्षमा गठबन्धनबाट घिमिरे र पीपीएलएको तर्फबाट अधिकारीले प्रतिस्पर्धा गर्ने
काठमाडौ।नेपाल बार एसोसियसनको भावी अध्यक्षका लागि एमाले समर्थित वकिलहरुको तर्फबाट विष्णुमणि अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एमाले समर्थित वकिलहरुको संस्था पीपीएलएबाट अधिकारीको नेतृत्वमा बारको महाधिवेशनको लागि उम्मेदवार बन्नेहरुको नाम टुंग्याएको हो। जसअनुसार महासचिवमा केदार कोइराला र कोषाध्यक्षमा जगत कार्कीको उम्मेदवारी मनोनयन गरिनेछ।
उता बारको भावी अध्यक्षको लागि सत्ता गठबन्धनको तर्फबाट गोपालकृष्ण घिमिरेको नाम टुंगाएको थियो। सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा महासचिव र वरिष्ठ उपाध्यक्ष परेको छ। तर यी दुई दलका वकिलहरुले महासचिव वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्नेको नाम टुंग्याएका छैनन्।
बारको २६औँ महाधिवेशनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले समर्थित वकिलहरुबीच टक्कर हुने भएको छ।
महाधिवेशनअन्तर्गत सोमबार उम्मेदवारी मनोनयन रहेको छ। सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ। महाधिवेशनअन्तर्गत चैत १९ गते मतदान हुनेछ।
बारमा अध्यक्ष एक, खुलाबाट एक वरिष्ठ उपाध्यक्षसहित सात प्रदेशबाट एक एकजना उपाध्यक्ष गरी आठ जना, एक महासचिव, एक कोषाअध्यक्ष र समावेशी आधारमा १४ जना सदस्य कार्यसमितिमा निर्वाचित हुन्छन्। चुनावमा ९ हजार ६०७ जना मतदाता रहेका छन्।

