सोलुखुम्बु : माओवादी केन्द्रले गर्‍यो जनयुद्धका सहिद,घाइते तथा बेपत्ताका परिवारलाई सम्मान




सोलुखुम्बु । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले दस बर्षे जनयुद्धका सहिद, घाइते तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्र सोलुखुम्बु समन्वय समितिका संयोजक असिम राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका सोलुखुम्बु इन्चार्ज हेमकुमार राई शुरवीरको प्रमुख आतिथ्यता शनिबार सम्पन्न कार्यक्रम उनीहरूलाई सम्मानित गरिएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।सहिद सप्ताहको अन्तिम दिन आयोजना गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाभरिका ९१ जना शहिद, घाइते तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको संयोजक राईले जानकारी दिए। व्यवस्था परिर्वतनका लागि ज्यानको बाजी लगाएका योद्धाको योगदानको कदर गर्दै शहिदका परिवारलाई सम्मान गरिएको संयोजक राईले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य शुरवीरले शहिद, घाइते तथा बेपत्ता नागरिककै सपना पुरा गर्ने बाटोमा माओवादी नेतृत्व लागि परेको बताउंदै व्यवस्था परिर्वतनको सवालमा ज्यान गुमाएका, घाइते भएका र बेपत्ता भएका परिवारको व्यवस्थापन र पार्टी भित्र दिनुपर्ने उचित स्थानको बारेमा पार्टी नेतृत्वमा छलफल चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै नेचासल्यान ४ का सहिद युवराज कटेलका दाई कमल कटेलले राज्यले सहिद परिवारका सदस्यलाई वेवास्ता गरेको गुनासो गरे । आफ्नो सदस्य गुमाउदाको पिडामा मलम लगाउन नेतृत्व तदारुक नभएको कटेलको भनाइ थियो।

यस्तै प्रदेश समिती सदस्य सुनिता किराँतिले सहिदहरुको त्याग र बलिदानले आज महिलाहरुको प्रतिनिधित्व बृद्धि भएको भन्दै सहिदहरुका परिवारलाई हेर्ने दृष्टिकोण सबै पार्टीमा एक हुनु पर्ने बताइन् ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला सह ईन्चार्ज ध्रुव शर्मा पराजुली, प्रदेश १ कमिटीका सहसचिव सागर किराँती, पुर्व जिल्ला संयोजक कर्ज्याङ शेर्पा, प्रदेश सदस्य हिमाल गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्