आजबाट बिदा हुंदैछन राष्ट्रियसभाका यी २० सदस्य
काठमाडौं।संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसदको कार्यकाल आज सकिदै छ ।

यसरी कार्यकाल सकिनेमा नेकपा एमालेबाट अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ ।
यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।
यसरी पदावधि सकिनेमा तीनै दलका नेता र राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति समेत रहेका छन् । दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ रहेका छन् ।
यसैगरी राधेश्याम राष्ट्रिय सभा कांग्रेस दलको नेता हुन् भने दिनानाथ माओवादी केन्द्र संसदीय दलको नेता र सुमनराज प्याकुरेल प्रमुख प्रतिपक्ष एमाले संसदीय दलको नेता हुन् । राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि (शनिवार) हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए ।

