चार दलले साम्राज्यबादीको दलाली गरेको आरोप लगाउँदै सत्ता गठबन्धनबाट बाहिरियो राजमो
काठमाडौं।प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुँदा विपक्षमा मत दिएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ।

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै आएको जनमोर्चा सत्ता गठबन्धनले नै व्यात्मक घोषणाका नाममा अनुमोदन गरेपछि सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएको हो।
जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलले एमसीसी अनुमोदन हुँदा विपक्षमा मत दिएकी थिइन्।
’हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

