पौडेलको आरोप,- ‘चीनको इसारामा कम्युनिस्ट नेताहरु एमसीसीको विपक्षमा उभिए’




तनहुँ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इसारामा विपक्षमा उभिएको आरोप लगाएका छन्।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताए।

उनले कांग्रेसलाई संगठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए। केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको बताए। कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्