आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । अपराहन्न १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गर्ने प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।
एमसीसीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद भएपछि कसरी अनुमोदन हुन्छ भन्ने विषय अझै स्पष्ट रहेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ । अहिलेसम्मको सरकारको तयारी हेर्दा अवरोधका बिचमा नै एमसीसी अनुमोदन हुनसक्ने सम्भावना देखिएको छ ।
सत्तारुढ गठबन्धनमा नेकपा माओवादी एमसीसीको विरुद्धमा गएको छ भने एकीकृत समाजवादीले यथास्थितिमा अनुमोदन नगर्ने भनेपनि अधिकांश सांसद एमसीसीको पक्षमा देखिएपछि अप्ठ्यारोमा परेको छ । एकीकृत समाजवादीमा एमसीसीकै कारणले विवाद बढेपछि सांसदहरुलाई ह्विप नलगाएर पार्टीले विरोध गर्ने र सांसदहरुले पक्षमा मतदान गर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ ।
त्यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । त्यस्तै जनता समाजवादी पार्टीले आधिकारिक निर्णय नगरेपनि बहुसंख्यक संसदले एमसीसीको पक्षमा मतदान गर्ने बताइएको छ ।

