न्याय परिषद बैठक : विशेष अदालतको अध्यक्ष र सदस्यमा ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको छ।

बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जना गरी ६ जना न्यायाधीशको नाम सरकारलाई सिफारिस गरेको हो।
विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ।
यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको छ।
गत साउनयता विशेष अदालत २ जना न्यायाधीशको भरमा मात्रै चल्दै आएको छ। गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो।

