सात सालको क्रान्तिको जगमा मुलुकले राजनीतिक रूपमा ठुलो फड्को मारेको छ : देउवा



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको बताएका छन् ।
७२औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालमा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति भएको उल्लेख गरे। त्यसैको जगमा विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको उनको भनाइ थियो।

एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उनको भनाइ थियो।

“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौं। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ,” प्रधानमन्त्री देउवाले भने, “आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ,

प्रधानमन्त्री देउवाले स्थानीय चुनाव लगत्तै प्रदेश र संघको चुनाव गरिने बताएका हुन्। प्रधानमन्त्री देउवाले भने, “हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गईरहेका छौं। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ।”

सबै चुनाव सम्पन्न गरेर जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था संचालन गर्न पद्धति सुदृढ गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले भने, “सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिवद्ध हुन आवश्यक छ।”[फाईल फोटो]

प्रतिक्रिया दिनुहोस्