देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभनमा पर्नु प्रजातन्त्र होइन : पूर्बराजा




काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र नभएको बताउनुभएको छ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गर्दै पूर्बराजा शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने बताउनुभएको हो।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको उल्लेख गर्दै वहाँले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको स्पष्ट पार्नुभएको छ। छन।’प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वत:स्फूर्त एवम् लोक सम्मत हुन्छ र हुनुपर्छ’ पूर्बराजा शाहले सन्देशमा उल्लेख गर्नुभएको छ।

शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँचिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रब्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न रहेको उल्लेख गर्नुभएको छ।

राष्ट्रियताबिनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ। न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ,’ वहाँले भन्नुभएको छ।

प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको वहाँको भनाई छ।

यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा समीक्षा गर्न सबै नेपाली तयार हुनुपर्ने उनले वक्तव्यमा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्