नयाँ बानेश्वर क्षेत्र आज पनि अस्तब्यस्त,प्रदर्शन अझै जारी

काठमाडौं।अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भएका प्रदर्शनले आज पनि नयाँ बानेश्वर अस्तब्यस्त बनेको छ।

शुक्रबार बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका साथै बिपक्षी दलका नेता कार्यकर्ताहरुले एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनलाई जारी राखेका छन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले पनि संयुक्त रूपमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले सडकमा टायर बालेका छन्। उनीहरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्। ‘एमसीसी चाहिदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन बानेश्वरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि बुधबार एमसीसीविरुद्ध प्रदर्शन हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो।
निषेधित क्षेत्र तोड्न थालेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। सोही क्रममा दर्जनौं प्रदर्शकारी र प्रहरी घाइते भएका थिए।

