भोलिको संसद बैठकमा एमसीसी टेबल हुने, पारित गर्नुपर्ने कांग्रेस संसदीय दल बैठकको निष्कर्ष




काठमाडौं।नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने निष्कर्ष निकालेको छ । मंगलबार संसद् भवनमा बसेको बैठकले एमसिसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा एमसिसी पारित गर्नुपर्ने विषयमा ब्रिफिङ गरेका थिए । बैठक सञ्चारकर्मीसित कुराकानी गर्दै सांसद कोइरालाले सभापति देउवाले एमसिसी पास गर्नुपर्ने ब्रिफिङ गरेको बताए । एमसिसी सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बैठकमा देउवाको भनाइ थियो ।

‘बैठकमा एमसिसी पास गर्नेबारे छलफल भयो । सबैले एमसिसी पास गरौँ भन्नुभएको छ,’ उनले भने, ‘एमसिसी चलेका देशमा सेना आएका छैनन् । भोलिको बैठकमा पेस हुन्छ । सबै जसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।’

संसदीय दलको बैठक अघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा शीर्ष नेतासँग छलफल पनि गरेका थिए। प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने बारे छलफल गरेका हुन्।

देउवाले बुधबार बस्ने संसदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटालाई एमसीसी टेबल गराउने विषयमा प्रचण्ड-नेपालसँग आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। बुधबार संसदमा टेबल गर्न देउवाले प्रस्ताव गरेकोमा प्रचण्ड र नेपाल करिब करिब सहमत भएका छन्।

प्रतिक्रिया दिनुहोस्