सर्बोच्चको फुलकोर्ट बैठक शुक्रबार बस्ने

काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् ।

संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले शुक्रबारका लागि बैठक आव्हान गरेका हुन् ।
जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । यीमध्ये तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा छन् । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाएका हुन् । बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको छ ।

