पार्टीको चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्ने माग गर्दै २४ दल आन्दोलनमा



काठमाडौँ । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न नदिने कानुनी व्यवस्थाविरुद्ध संघर्ष समिति गठन गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त नगरेका २४ वटा साना पार्टीले संघर्ष मितिको घोषणा गरेका हुन।शुक्रबार बसेको २४ दलको बैठकले संघर्ष समिति गठन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए । संघर्ष समितिमा नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल, बहुजन समाज पार्टी, विवेकशील साझा पार्टी, सामाजिक लोकतान्त्रिक पार्टीलगायत छन् ।

बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहरसमेत गरेको छ । त्यस्तै बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिह्न स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीको समेत अपनत्व लिँदै तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको प्रवक्ता पाठकले जनाए ।

प्रतिक्रिया दिनुहोस्