फेरि स्थगित भयो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक
काठमाडौं।प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अमेरिकालाई पठाएको एमसिसी पारित गराउने प्रतिवद्धतासहितको पत्र सार्बजनिक भएपछि पार्टीभित्रबाटै त्यसको तीब्र आलोचना भइ रहेका बेला नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ।

शुक्रबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमणको जोखिम पनि छ। यता पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य पनि पुगेको छैन।’

भोलि शुक्रबारबाट सुरु हुने भनिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो। यसअघि माघ ८ गते बोलाइएको बैठक पनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थियो।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन्। दुवैले आफ्नो अडानबाट पछि नहटेपछि प्रचण्डलाई मिलाउन सकस परिरहेको छ।
माओवादीमा अमेरिकी सहयोग परियोजना एमसिसीको बिषयलाई लिएर पनि तीब्र विवाद छ।यही बिषयलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा समेत खटपट भइरहेको छ।

