बेहुली लिएर फर्कंदै गरेको जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु,५ जनाको अवस्था गम्भीर
काठमाडौं । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

८ मध्ये ६ जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल बिजुबारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ ।
मृत्यु हुनेहरूमा गौमुखी गाउँपालिका(६ का बसन्त खड्का, उनकी श्रीमती बसन्ता खड्का र छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । लुङका एकजनाको पहिचान हुन सकेको छैन ।
रातिको समयमा दुर्घटना हुँदा समयमै उद्दार हुन नसकेको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।
अन्य पाँच जनाको अवस्था पनि गम्भीर रहेको छ । जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङतर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान १ बजे ओखरपाटामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

