२ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो नेपालको जनसंख्या, पुरुष भन्दा महिलाको संख्या बढी
काठमाडौं।नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। बुधबार भर्चुअलमाध्यमबाट पत्रकार सम्मेलन गर्दै विभागले महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको जानकारी दिएको हो।सार्बजनिक तथ्यांक अनुसार पुरुष भन्दा ६ लाख महिलाको संख्या बढी छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गरेको छ।
प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्र आउनेछ ।
राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गरिएको छ। गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए।
नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो।

