राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु
काठमाडौं।आगामी माघ १२ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ ।

निर्वाचनको ७२ घण्टा अघिबाट मौन अवधि शुरु हुने व्यवस्था छ । जसअनुसार बुधवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतवार मध्यरातबाट शुरु भएको हो।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने व्यवस्था छ । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह, प्रचार सामग्री हटाउनु पर्नेछ। निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताए।सहसचिव धमलाले मौन अवधि शुरुभएपछि विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताए।उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताए।
सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए।राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ।
निर्वाचनमा नौ दलका ४३ उम्मेदवार रहेका छन् । प्रदेश १ मा तीन, मधेस प्रदेश र बाग्मती प्रदेशमा समान २र२, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समान ३र३ पदका लागि निर्वाचन हुनेछ।सातै प्रदेशमा कूल २०२५ मतदाता रहेका छन्। आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन्। हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन्।

