सोलुखुम्बु : सातौं जिल्ला अधिबेशनका लागि आज प्रतिनिधि छनौट गर्दै एमाले
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले जिल्ला अधिबेशनका लागि आज ८ वटा स्थानीय तहका ५२ वटै वडामा प्रतिनिधि चयन गर्ने भएको छ।

पौष २३ र २४ गते हुने सातौं जिल्ला अधिबेशनका लागि पार्टीका संगठित सदस्यहरु मध्येबाट आज सबै वडामा प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको प्रचार उपसमिति प्रमुख जगनाथ बास्तोलाले जानकारी दिए।बास्तोलाका अनुसार जिल्ला भर नेकपा एमालेका ३ हजार ३० संगठित सदस्य रहेका छन् । संगठित सदस्यता नवीकरण गरेका संगठित संदस्यहरुको भेलाले जिल्ला कमिटीले तोकेका मापदण्डका आधारमा प्रतिनिधि चयन हुने उनले बताए।
खुलातर्फ २० संगठित सदस्य बराबर १,१० महिला सदस्य बराबर १ र दलित ५ बराबर १ सदस्य चयन हुने अर्का नेता गोपाल घिमिरेले बताए ।घिमिरेका अनुसार कुनै वडामा तोकिएको संख्या भन्दा कम भएमा १ जना प्रतिनिधि पाउनेछन।सम्बन्धि वडा कमिटीले आजै प्रतिनिधि को नाम र फोटो जिल्ला अधिबेशन प्रतिनिधि व्यवस्थापन उप समिति समक्ष पेस गर्नु पर्ने बताइएको छ।अधिबेशन आयोजक समितिका १९४ सदस्य स्वतस् प्रतिनिधि हुने ब्यबस्था गरिएको छ।
अधिबेशनमा जिल्लाभरका झण्डै ५ सय प्रतिनिधि र १ सयको हाराहारीमा पर्यवेक्षक सहभागी हुने अनुमान गरिएको उनले बताए ।त्यसका लागि छनोट भएका प्रतिनिधि सङ्ख्याको ५% जिल्ला कमिटीले र प्रत्येक स्थानीय तहको पार्टी कमिटीलाई ५/५ जनाका दरले प्रतिनिधि मनोनयनको अधिकार दिने निर्णय गरिएको छ ।मनोनीत गर्दा समाबेशिता सहितको सहभागितालाई मध्यनजर गर्नुपर्ने छ।

