दोश्रो जनआन्दोलनमा बीरेन्द्रनगरमा भत्काईएको राजा बीरेन्द्रको शालिक पुनस्थापना
बीरेन्द्रनगर।दोश्रो जनआन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगरमा भत्काईएको स्वर्गबासी राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहका नाममा २०६२र६३ मा भत्काइएको सो शालिक बुधबार पुनःस्थापना गरिएको हो ।

वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्नुपर्ने माग स्थानीयले गर्दै आएका थिए। स्थानीयको यही माग र सहयोगका कारण राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा अर्धकदको शालिक स्थापना गरिएको हो । शालिक पुनस्थापनाको अगुवाई गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका थिए ।
यता , ललितपुरको जावलाखेलमा वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै बुधबारै दीप प्रज्वलन गरेको छ । प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व। शाहले पुर्याएको योगदानको स्मरण गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए । उक्त प्रस्तावका पक्षमा ११६ राष्ट्रले हस्ताक्षर गरेका थिए ।

