प्रदेश २ को नामाकरणको तयारी,दलहरूका यस्ता छन् प्रस्ताव
जनकपुर ।हालसम्म पनि नामाकरण हुन नसकेको प्रदेश २ को नाम राख्नका लागी प्रदेश सभा बैठकमा प्रक्रिया अघि बढ्ने भएको छ।जसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू आ(आफ्नो तयारीमा जुटेका छन् ।

नेकपा (एमाले)ले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ । भोलिको प्रदेश सभा बैठकमा आफूहरूले प्रदेशको नाम ‘जनक’ राख्न प्रस्ताव पेस गर्ने एमालेका सांसद सत्यनारायण मण्डलले जानकारी दिए ।
तत्कालीन नेकपा हुँदा जानकी नाम सचिवालयमा दर्ता गराएको भएपनि अब जनक राख्न प्रस्ताव गरिने बताए ।
प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहमत भएका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेका हुन् ।
विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाएकी छन् । माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रस्ताद साहले पनि प्रदेशको नाम ‘मधेश प्रदेश’ प्रस्ताव गरे । प्रदेश २ को पहिचान मधेस र मधेसी भएकाले नाम एकमत भएर ‘मधेस प्रदेश’ पारित गनुपर्ने उनको भनाई छ ।
नेकपा (एकीकृत समाजवादी)ले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ भने नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।
१०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ ।

