पदाधिकारी चयन गर्न सकस भएपछि प्रदेश १ मा माओवादी केन्द्र को कार्यदल



विराटनगर। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र (प्रदेश) समितिको आज (बुधबार) बसेको बैठकले पदाधिकारी टुंगो लगाउन सकेन।

प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले समितिको पहिलो बैठकमा आफूहरुले प्रदेशको अध्यक्ष पद छोड्ने सहमति गरेका थिए।

यसपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन्।

बैठकका सञ्चालक तथा प्रदेशका सह(इन्चार्ज सावित्रीकुमार काफ्लेले नयाँ नेतृत्व छनोटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह(इन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको बताए।

उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ। उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्