जनयुद्धका ‘जिंउदा सहिद’ संकल्प किराँतीले छोडे माओवादी केन्द्र



सोलुखुम्बु ।पार्टी र क्रान्तिका लागि भन्दै आफ्नो उर्जाशील समय बिताएका नेकपा माओवादी केन्द्र सोलुखुम्बुका नेता बिकेन्द्र कुलुङ उर्फ संकल्प किराँतीले आजबाट सो पार्टीबाट विश्राम लिएको घोषणा गरेका छन् ।

पार्टीको १ नं प्रदेश कमिटीको सम्मेलनमा भाग लिन बिराटनगर पुगेका किरांतीले सोमबार सामाजिक सन्जाल फेसबुकमार्फत माओवादी राजनीतिबाट विश्राम लिएको घोषणा गरेका हुन् ।सामाजिक सन्जालमा किराँतीले ुमेरो २० बर्ष लामो राजनीतिक यात्रा अन्त्यु भन्दै आजकै मितिदेखी लागू हुनेगरी माओवादी केन्द्रको कुनै पनि जिम्मेवारीका साथै साधारण सदस्य समेतबाट बिदा लिएको उल्लेख गरेका छन् ।अहिलेसम्मको सद्भाव र सहकार्यका लागि सम्पूर्ण नेता कार्यकर्ता र सहयोद्दाहरुप्रति कृतज्ञता समेत प्रकट गरेका छन्।

२०५८ सालमा १४ बर्षको कलिलै उमेरबाट माओवादी जनयुद्धमा जोडिएका बिकेन्द्रको यो पुनर्जन्म भएको उनका सहकर्मीहरु बताउँछन्।संखुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बेस क्याम्प आक्रमणका क्रममा गम्भीर घाइते भएर ढलेपछि किरांतीलाई मोर्चामा सामेल जनमुक्ति सेनाका अन्य सहयोद्दाहरुले सहादत प्राप्त गरेको भन्दै छोडेर हिंडेका थिए।

तत्कालीन नेकपा माओवादीले त्यतिबेला उनलाई सहिद घोषणा गर्दै चैनपुर भीडन्तमा सहादत प्राप्त गरेको भन्दै घरमा चिठी समेत पठाएको बताईन्छ।पछि स्थानीयले जिंउदै भेटेपछि एक महिना जति उपचार गरेर किरांतीलाई पार्टीको जिम्मा लगाएको व्यापक चर्चा त्यतिबेला थियो।

त्यसयता उनी विभिन्न जिम्मेवारीमा रहेर माओवादी आन्दोलनमा कृयाशील रहंदै आएका थिए।एक्कासी उनले किन माओवादी केन्द्र परित्याग गर्ने निर्णय गरे त्यसले उनका सहकर्मीहरुलाइ आश्चर्यचकित बनाईदिएको छ।

माओवादीमा रहंदा लडाइँका विभिन्न मोर्चामा सहभागी भएका किरांतीले एरिया सेक्रेटरी,इन्चार्ज,बिशेष जिल्ला सचिवालय सदस्य,किराँती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिब,किरांत राज्य समिति सदस्य जस्ता महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए।हाल उनी माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्