एमाले महाधिवेशन : आजबाट बन्दसत्र,सहमतिका लागि केन्द्रीय कमिटी बैठकद्वारा बिधान संशोधन



काठमाडौं।नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बजे बन्दसत्र सुरु हुने भएको छ।

नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए । ‘भोलि १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ। उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन्। बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ। बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ। महाधिवेशन आइतबारसम्म चल्ने छ।

महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ।

अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।

यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताउनुभएको छ । बन्द सत्र सुरु भएपछि उम्मेदवारी दिने उहाँले बताउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्