गच्छदारले आफ्नो मान्छे नेतृत्वमा ल्याउन खोज्दा सुनसरी-३ मा कांग्रेस अधिबेशन स्थगित



सुनसरी। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको निर्बाचन क्षेत्रमा कांग्रेस अधिबेशन स्थगित भएको छ। गच्छदारको निर्बाचन क्षेत्र सुनसरी(३ मा मतदान कार्यक्रम विवादित बनेपछि अनिश्चितकालका लागि स्थगित भएको हो।

गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई नेतृत्वमा ल्याउन खोज्दा विवाद उत्पन्न भएको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान ९ बजेदेखि सुरु हुनुपर्ने मतदान विवादको कारण समयमै हुन सकेको थिएन ।

निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार मतदान सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरु कोही पनि उपस्थित नभएकोले मतदान हुन नसकेको हो ।
कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले मतदान सुरु गर्न माग गर्दै निर्वाचन अधिकृत यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरुले यादव निर्वाचन गराउन असक्षम भएको आरोप लगाएका थिए ।

मतदान अधिकृत यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदानलगायत अन्य निर्वाचन कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिएका थिए । मतदान स्थगित भए पनि क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेकाले नेताहरु विवाद मिलाउन छलफलमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्