सोलुखुम्बुमा माओवादी केन्द्रलाई चुनौती दिनसक्ने पार्टी कुनै छैनन् : सांसद राई
काठमाडौं।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सांसद हेमराज राई ‘सुरबीरुले’ सोलुखुम्बुमा आफ्नो पार्टीलाई चुनौती दिन सक्ने कुनै दल नभएको बताउनुभएको छ।

नेकपा माओवादी केन्द्र सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै सांसद राईले सो कुरा बताउनुभएको हो। राजनीतिक सिद्धान्त र बिचारमा मात्र नभई माओवादी केन्द्र बिकास निर्माणको नेतृत्व गर्ने कुरामा पनि अघि रहेको प्रष्ट पार्दै सोलुखुम्बु जिल्ला इन्जार्जसमेत रहनुभएका राईले शान्ति,स्थायित्व र समृद्धिका लागि माओवादी केन्द्रको विकल्प नरहेको बताउनुभयो।
नेपाली कांग्रेसभित्रको अन्तर्द्वन्द्व र एमालेमा आएको बिभाजनबाट निरास कार्यकर्ताहरुको आकर्षण अहिले माओवादी केन्द्र भएको वहाँको दावी थियो।आफू प्रतिनिधि सभा सदस्य निर्बाचित भएपछि जिल्लामा भए गरेका बिकास निर्माणका कामहरूबाट कुनै पनि माओवादी कार्यकर्ताले छाती फुलाएर हिंड्न सक्ने अवस्था रहेकोे बताउंदै वहाँले आउने तीनवटै तहका निर्बाचनमा माओवादी केन्द्र झन सशक्त र बलियो भएर आएको परिणामबाटै पुष्टि हुने बताउनु भएको थियो।
नेकपा माओवादी केन्द्र सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अनिल राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङ,प्रदेश कमिटी सदस्यद्वय सागर किराँती र ध्रुब पराजुली, जिल्ला समन्वय कमिटी सचिब अशिम राई,संविधानसभा सदस्य आङदावा शेर्पा लगायतले आ(आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
सम्मेलनले सुरेशबाबु जम्मरकटेल अध्यक्ष र बिनोदमणी राई सचिब रहने गरि ५१ सदस्यीय पार्टीको सोलु-काठमाडौ सम्पर्क समन्वय समिति चयन गरेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य भुपेन्द्र कट्टेलले जानकारी दिनुभयो।समितिमा सात जना पदाधिकारी छन् ।

