स्वास्थ्यमन्त्री खतिवडासंग भारतीय राजदूत क्वात्राको भेट, स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न दुबै सहमत



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेट गर्नुभएको छ । सोमबार मन्त्री खतिवडासंग शिष्टाचार भेटका लागि राजदुत क्वात्रा मन्त्रालयमा नै आउनुभएको हो ।

सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपाल र भारत बीचको द्धिपक्षीय सम्वन्धको महत्वपुर्ण पाटोको रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य पनि रहेको धारणा राख्नुभयो । स्वास्थ्य क्षेत्रमा प्राप्त हुँदै आएको सहायता तथा कोभिड–१९ को सुरुवाती अवस्थादेखि भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य उपकरण, सामाग्री, औषधि, खोप, आइसियु वेड, अक्सिजन लगायतका सहायताका लागि राजदुत क्वात्रा मार्फत मन्त्री खतिवडाले भारत सरकालाई धन्यवाद दिनुभयो ।
साथै उहाँले कोभिड १९ को महामारीको विषम परिस्थितिमा पनि भारतवाट नेपालमा औषधि, अक्सिजन लगायत अन्य स्वास्थ्य सामाग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनिय रहेको बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘सम्पूर्ण लक्षित जनसंख्यालाई यथाशक्य चाँडो कोभिड १९ बिरुद्धको खोप लगाई सक्ने लक्ष्य अनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपुर्ण छ ।’ स्मरणीय छ भारतबाट थप ५० लाख डोज खोप खरिदको लागि स्वास्थ्य सेवा बिभाग मार्फत प्रक्रिया अगाडि बढी सकेको छ । मन्त्री खतिवडाले भन्नुभयो, ‘सो कार्यमा महामहिमज्युले आवश्यक समन्वय गरिदिनुहुनका लागि म विशेष अनुरोध गर्दछु । ’

भेटमा मन्त्री खतिवडाले नेपालमा मृगौलाका बिरामीहरु दिनानुदिन बढ्दै गई रहेको सन्दर्भमा थप डाइलाइसीस मेसिनको आबश्यकता रहेको भन्र्दै १५० देखि २०० वटा सम्म मेसिन उपलब्ध गराई दिनुहुन समेत अनुरोध गर्नुभयो ।
भेटमा भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले हालै एम्बुलेन्स सम्बन्धि नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरेका छौं । तसर्थ अबको एम्बुलेन्स सहायता प्राप्त हुँदा उक्त निर्देशिका बमोजिम हुनुपर्ने भएकोले मन्त्रालयसंगको सहकार्यमा उपलब्ध गराउनु हुन समेत अनुरोध छ ।’

भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रश्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझाव बमोजिम कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आए पश्चात मात्र प्रक्रिया अगाडि बढ्ने विचार पनि मन्त्री खतिवडाले राजदुत क्वात्रा समक्ष स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्