नेचासल्यान : सिंहदेवी मन्दिरमा हर्ष बढाँईका साथ भित्र्याईयो फूलपाती

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु। नेचासल्यान गाउँपालिका वडा नं. ३ मा अवस्थित सिंहदेवी मन्दिरमा आज हर्ष बढाइकासाथ फूलपाती भित्र्याइएको छ ।
घटस्थापनादेखि शुरु भएको श्री देवीभागवत महापुराणको सातौं दिन सप्तमी तिथिको अवसरमा सो फूलपाती भित्र्याइएको हो । बेशी गाउँ भदौरेमा रहेको हरिप्रसाद बास्तोला र डण्डीकेशर कटेलको घर नजिकै रहेको बेलको फेदबाट बेली पुष्प, माने, केरा, अशोक, धान, दारिम, वेसार, केरा, उखु, कच्चु र जयन्तीको फूल सहितका नव पत्रीका तयार गरि पञ्च कलश, बाजागाजा, शंखघण्टसहित सो फूलपाती देवी स्थानमा लगेर भित्र्याइएको छ ।

सिंहदेवी समाज सेवा गुठीको आयोजनामा बर्सेनि नव रात्रमा देवी भागवत महापुराण लगाउने गरिन्छ । पण्डित टंकप्रसाद ढुंगानाको मुखारविन्दबाट सो देवी भागवत महापुराणको कथा वाचन भइरहेको छ भने गुठीमा करिब २ सय घरधुरी आबद्ध रहेका छन् ।
विगत १४ वर्ष अगाडिदेखि सो देवी थानमा गुठी स्थापना गरी देवीको स्थानलाई संरक्षण सम्बर्द्धन गरिदै आएको छ भने गुठी नेचासल्यान गाउँपालिका भित्रका २,३,४ र ५ वडा र थुलुङ दुधकोशी, ओखलढुंगाको चिसन्खुगढी गाउँपालिकाभित्रका घरधुरी आवद्ध रहेका छन् ।
सिंहदेवी माताको दर्शन गरेमा सम्पूर्ण मनोवान्छा सिद्ध हुने धार्मिक मान्यता रहेको छ ।

