फाप्लुमा बन्यजन्तु अपराध न्यूनीकरण सम्बन्धी तीन दिने तालिम सुरु

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।पछिल्लो समय बढ्दै गएको वन्यजन्तु अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि ३ दिने कर्मचारी दक्षता अभिवृद्धि तालिम सुरु भएको छ ।

डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा फाप्लुमा सुरु तालिममा जिल्ला स्थित वनसँग सम्बन्धित कार्यालय तथा विभिन्न संघ संस्थाका कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तत्वधानमा सुरु तालिमको उद्घाटन गर्दै जिल्ला अदालत सोलुखुम्बुका जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुलीले वन्यजन्तु अपराधलाई कानुनको कठ्घरामा ल्याउनु चुनौतीपुर्ण रहेको बताउनु भयो। वन्यजन्तु विश्वकै सम्पत्ति भएपनि मानिसहरुले यसको महत्व नबुझ्दा बन्यजन्तु अपराध बढ्दै गएको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कट्वालले बन्यजन्तु अपहरण तथा चोरी सिकारी विरुद्ध सोलुखुम्बु प्रहरी निर्मम ढंगले अघि बढेको बताउंदै पछिल्लो समय चोरी सिकारीमा संलग्न ब्यक्तिहरु प्रहरीले पक्राउ गरेसँगै जिल्लामा वन्यजन्तु अपराध न्यूनिकरण हुँदै गएको दावी गर्नुभयो ।
यस्तै अध्यक्षको आशनबाट बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले वन्यजन्तु अपराधलाई शुन्यमा झार्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । तालिममा वन्यजन्तु अपराध नियन्त्रणका उपाय, वन्यजन्तुको संरक्षण विधि लगायतका विषयमा जानकारी प्रदान गरिने निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

