सभामुख संसदको नेता हुनुपर्नेमा सत्तापक्षको नेता भएको योगेश भट्टराईको आरोप

काठमाडौं। नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै उनले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा एकलौटी रुपमा अघि बढ्दा संसद बैठकमा नहुन पर्ने गतिविधि हुन थालेको जनाएको छ ।प्रतिपक्षी तथा संसदको सबैभन्दा ठूलो दलसमेत रहेको एमालेसँग कुनै छलफल नै नगरि अघि बढ्दा समस्या निस्किएको एमालेको ठहर छ।
सभामुख संसदको नेता हुनुपर्नेमा उहाँ सत्तापक्षको मात्रै नेताको रुपमा प्रस्तुत भएकाले एमालेका सांसदहरु आक्रोशित हुनु स्वाभाविक भएको भट्टराईको भनाइ छ।कार्यव्यवस्था परामर्श समितिको बैठक पनि नबस्ने र संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिइनु गम्भीर आपत्तिको विषय भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो।

