वाईसीएलको राष्ट्रिय भेला सुरु,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे उद्घाटन

काठमाडौं।नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल)को राष्ट्रिय भेला सुरु भएको छ।

‘‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं ! सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसीएल नेपालको राष्ट्रिय भेला सफल पारौं !!’ भन्ने मूल नाराका साथ सुरु सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन।
भर्चुअल रूपमा सम्पन्न हुने सम्मेलनमा ६४७ जना प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहेको बताईएको छ। वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ अनुसार भेलामा उद्घाटन र बन्द सत्र गरी दुई सत्र रहनेछन् । बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे गम्भीर बहस गरी ठोस कार्यदिशाको संश्लेषणमा पुगिनेछ ।
भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेण्डामा गहन छलफल हुने छ भने छलफललाई प्रविधिमैत्री र सबैको अभिमतको प्रतिनिधित्व हुने व्यवस्था गरिने सापकोटाले जानकारी दिए । उक्त छलफलबाट प्राप्त सुझावका आधारमा कार्यदिशाको संश्लेषण र संगठनमा नयाँ कमिटीको निर्वाचन गरिने उनको भनाइ छ ।

