नेकपा एकीकृत समाजवादीले गठन गर्‍यो हाइ कमान्ड, को को छन ?



काठमाडौ । नेकपा एमालेबाट बिभाजित नेकपा एकीकृत समाजवादीले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमान्ड गठन गरेको छ ।सो पार्टीको शुक्रबार बसेको बैठकले
साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई समेटेर हाइ कमान्ड बनाएको हो ।

हाइ कमान्डमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् । हमालबाहेक अरू एमालेको स्थायी कमिटीमा थिए । सरकारमा जाने मन्त्रीको नाम भने यही हाइकमाण्डले चयन गर्ने मुकुन्द न्यौपानेले बताए । उनका अनुसार सरकार विस्तारको तयारी भइरहेकाले एकाध दिनमै सरकारमा सहभागी हुने निर्णय भएको हो ।

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्नेछ । मन्त्रालय बाँडफाँट टुङ्गिएपछि सरकारमा जाने मन्त्रीहरूको नाम तय हुने न्यौपानेले बताए । सरकार गठन भएको ४२ दिन बितिसक्दा पनि प्रधानमन्त्री देउवाले माओवादीका दुई र नेपाली काँग्रेसका तीन मन्त्री नियुक्त गरेर सरकार चलाइरहेका छन् ।

एमाले विभाजन नभएको र एमालेको विद्रोही पङ्क्तिलाई सरकारमा सहभागी गराउनु पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । भदौ ९ गते एमाले विभाजन भएर नयाँ दल दर्ता भएपछि नवगठित दल पनि सरकारमा सहभागी हुन सहज भएको छ । माधव नेपाल नेतृत्वको दल सरकारमा सहभागी भएपछि संसद् पूरा कार्यकाल चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्