नेकपा एमालेले भदौ १६- २० गतेसम्म जिल्ला भेला सम्पन्न गर्ने

काठमाडौं।नेकपा एमालेले पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन भदौ १६–२० गतेसम्म जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ।

ललितपुरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय पनि गरेको छ।
बैठकले पार्टीको संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको नेत्री निरु पालले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिइन् ।
पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने, देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको जनाइएको छ ।
राष्ट्रिय जनगायक स्व. जेबी टुहुरेप्रति बैठकले शोक प्रस्ताव पारित गरेको जनाइएको छ ।बैठकले पार्टी बिभाजनमा संलग्न नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गरेको छ।

