मिल्यो बल्ल एमाले विवाद, तटस्थ बसेका नेताहरू बैठकमा सहभागी हुने

काठमाडौं।विभाजनमा तटस्थ बसेका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाउने बैठकमा सहभागी हुन सहमत भएका छन् ।

माधव नेपाल पक्षमा रहेर पनि विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरू सोमवार बालकोटमा अध्यक्ष ओलीसँग भएको छलफलपछि बैठकमा सहभागी हुन सहमत भएका हुन् ।छलफलमा ओलीले पार्टी विवाद समाधानका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तयार रहेको बताएका थिए ।
छलफलपछि अध्यक्ष ओलीकै निर्देशनमा भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बालकोटबाट बाहिरिने क्रममा सचिव योगेश भट्टराईले भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुने बताए ।
छलफलले माधव नेपाल अब पार्टीमा नफर्कने निष्कर्ष पनि निकालेको छ ।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता ज्ञवालीले भने ।
‘अपिल गरे पनि वा अरू कुनै आधारबाट पनि माधव नेपाल फर्कने सम्भावना छैन भन्ने निष्कर्ष रह्यो,’ ज्ञवालीले भने, ‘उहाँहरू त जानुभयो तर निर्वाचन आयोगले सनाखतको लागि बोलाएको छ । थप साथीहरू त्यसमा नजानुहोस् भन्नका लागि भोलिको बैठकले केही आह्वान गर्ला ।’
तटस्थ बसेका नेताहरूले भनेजस्तै पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किसकेको र पार्टी विभाजनमा नगएकाहरू पुरानै जिम्मेवारीमा यथावत रहने पनि ज्ञवालीले बताए ।

