माओवादी केन्द्रले संगठनात्मक संरचनामा हेरफेर गर्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीमा रिक्त पदमा नेताहरूको जिम्मेवारी तोक्ने गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाको हेरफेरबारे छलफल भएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जिम्मेवारी तोक्ने र संगठनात्मक संरचनाबारे छलफल भए पनि निर्णय भइनसकेको जानकारी दिए । केहि दिनअघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो ।
केन्द्रीय कमिटीको निर्देशनका विषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
आइतबार बस्ने बैठकले नेताहरूको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाका बिषयमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

