एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, अर्कै नाम लिएर आउन निर्वाचन आयाेगकाे निर्देशन

नेकपा (एमाले)बाट विभाजित नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित जनता समाजवादी पार्टी (लोकतान्त्रिक) त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएकाे छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित नेकपाएमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरेको छ ।
उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र २०७७ फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेकाे छ । नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन निर्वाचन आयाेगले राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ । त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ ।
आयोगमा यसअघि गत साउन २ गते बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज भदाैं ४ गते दुवै पक्षलाई उपलब्ध गराइने भएको छ । उनीहरुले अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।

