उपेन्द्र यादव समूहलाई जसपाको आधिकारिकता
जसपाको आधिकारिकता
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्षसमेत रहेका उपेन्द्र यादव समूहले पाएको छ । पछिल्लो केही महिनायता जसपाको आधिकारिकता यादव समूह र महन्थ ठाकुर समूहले दाबी गर्दै आएका थिए ।
तर, सोमबार निर्वाचन आयोगले ‘हेड काउन्ट’पछि जसपाको आधिकारिकता यादव समूहलाई दिएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादीबीच एकीकरण हुँदा गठन गरिएको कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यमध्ये बहुमत प्राप्त यादव समूहलाई जसपाको आधिकारिकता दिइएको हो ।
सोमबार आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो । तत् पश्चात आयोगको पाँच सदस्यीय इजलासले यादव समूहलाई जसपाको आधिकारिकता दिएको हो ।
आयोगले यादवलाई जसपाको आधिकारिता प्रदान गरेसँगै महन्थ समूहलाई दल दर्ताको अवसर दिने भन्ने निर्णय गरेको छ । ५१ सदस्सीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले सनाखत गरेका भने महन्थ पक्षमा १६ जना सदस्यले समर्थन गरेका थिए ।
निलम्बित सांसदसमेत रहेका रेशम चौधरी भने तटस्थ बसेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो ।