आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनौं : रावल
काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न आफुहरु गठबन्धनमा सामेल नभएको प्रतिक्रिया दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिवाद गर्दै उपाध्यक्ष रावलले सो प्रतिक्रिया दिएका हुन। रावलले सांसद् पदबाट राजीनामा दिएपछि प्रचण्डले प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ सार्वजनिक अभिव्यक्ति दिएका थिए।
रावलले सामाजिक सञ्जालमार्फत् प्रतिप्रश्न गर्दै एमाले फुट्नबाट जोगाउनका लागि आफूले त्याग गरेको बताएका छन्।
‘हामीले सांसद् पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्यायौँ, उनले प्रश्न गरेका छन्, ‘हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’
उनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू ‘नढलेको’ बताउँदै एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध उभिएको बताएका छन्। ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, उनले लेखेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।’