लुम्बिनी प्रदेश सरकार फेरि संकटमा

काठमाडौं।लुम्बिनी प्रदेशमा जसपाको महन्थ ठाकुर समूहबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।

भौतिक पूर्वाधार राज्यमन्त्री रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा उपेन्द्र यादव पक्षमा लागेकी छन् । उनी वैशाख १९ मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् ।
६ सांसद रहेको जसपाका महन्थ ठाकुर पक्षका चार जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्तियाक राईले अन्य मन्त्रीहरू पनि आफूहरूसँग आउनेबारे छलफल भइरहेको बताए ।
यसले प्रदेश सरकारको बजेट असफल हुने संकेत देखिएको छ । विपक्षी गठबन्धनले बजेट असफल गराउने रणनीति बनाएको छ । असार १ गते ल्याएको बजेटमाथि विवादका कारण छलफल हुन सकेको छैन ।
भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् ।
८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा तीन जना गरी अब ४१ जना सांसद भए । प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक हुन्छ ।
विपक्षी गठबन्धनले पहिलेदेखि नै प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै आएको थियो । अझै लुम्बिनीमा माधव नेपाल पक्षमा दुई सांसद छन् ।

