प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा हेर्दाहेर्दैमा, आज ५ कानुन व्यवसायीले गरे बहस



काठमाडाैं।दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकिएको छ। उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

पहिलो दिनको गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेका छन्। बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका छन्। उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर पेस गरे।

कानुन व्यवसायीहरुले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ को सरकार गठन गर्दा संविधान मिचेको आरोप लगाए।

सर्वोच्चले निवेदकहरुलाई बहसका लागि १५ घन्टाको समय तोकेको छ। करिब चार घन्टा बहस भएकाले अब ११ घन्टा उनीहरुले बहस गर्ने छन्। गठबन्धनको तर्फबाट करिब ३०० कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्