कांग्रेसमा नयाँ समीकरणको सम्भावना,बिमलेन्द्रले देउवा क्याम्प छोडेका हुन?



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेसँगै दोस्रो तहका नेताले सक्रियता बढाएका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठस्थित आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर छलफल गरेसँगै सभापतिका आकाक्षीमा रहेका नेताहरु छलफलमा जुटेका हुन्।

सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ। उपसभापति निधिले नेताहरुलाई निवासमै बोलाएका हुन् । उनले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै जनाले सभापति आकांक्षा राखेका छन्।

उपसभापति निधि सभापति देउवाका विश्वासिला पात्र हुन्। गुटमा मात्र नभई कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा निधि चिनिन्छन्। विद्यार्थी राजनीतिदेखि निधिले देउवालाई बलियो साथ दिँदै आएका छन्। १३ औं महाधिवेशनमै देउवाले अर्काे पटक निधिलाई सभापतिमा सहयोग गर्ने वचन दिएको कतिपय कांग्रेस नेता बताउँछन्। तर देउवाले सभापतिमै दोहोरिने चाहना राखेपछि पार्टीको नेतृत्व गर्ने निधिको चाहनामा चुनौती थपिएको छ। निधि महाधिवेशनसम्मै आफ्नो तयारीलाई अगाडि बढाउने र संस्थापनभित्रै आफ्नो पक्षमा माहोल बढाउँदै लैजाने पक्षमा छन्। सभापतिमा दोहोरिने देउवाको इच्छा बुझेका निधी दबाब बढाउँदै लैजाने रणनीतिमा छन्।

तीनै जना एकै ठाउँमा बसेर कुराकानी गरेपछि कांग्रेसमा अहिले नयाँ तरंग आएको छ। तीन प्रभावशाली नेताबीच भेटघाटमा मुख्यत: महाधिवेशनमै केन्द्रित रहेर कुराकानी भएको स्रोतको भनाइ छ। आजको छलफल सकारात्मक रहेको र निरन्तर छलफलमा जुट्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

देउवाले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरिसकेका छन्। उनले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए। प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा. डिला संग्रौलालगायत सहभागी थिए।

प्रदेश २ को छलफलमा उपसभापति विमलेन्द्र निधि, आनन्द ढुंगाना, जंगिलाल रायलगायत नेता सहभागी थिए। सभापति देउवाले सातै प्रदेशका आफू निकट नेतासँग छलफल गर्ने भएका छन्। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवाले आफू निकटसँग आन्तरिक छलफल गरेको जानकारी दिए।

छलफलमा देउवाले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म निर्धारित छ। कोरोनाका कारण हुने/नहुनेमा भने अधिकांश नेता नै सशंकित छन्। सभापतिका लागि यसपाली देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले रुचि देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्