‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्दै



राष्ट्रिय युवा संघ नेपाल

काठमाडौं, ४ असार । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एनवाईएफ सर्ट फिल्म कम्पिटिसन NYF SHORT FILM COMPETTION-2078 नाममा प्रतियोगिता सञ्चालन हुने संघले जनाएको छ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको उक्त प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना (office.nyfnepal@gmail.com) मा पठाइसक्नुपर्नेछ ।’

सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेपनि जनाईएको छ । आयोजक संस्थाले भनेको छ–‘यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।’

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले दिएको जानकारीअनुसार राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवर्द्दधन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्