प्रधानमन्त्री ओलीको ‘हत्या’ गर्नुपर्ने आशयको अभिव्यक्ति दिने सांसद वैद्यको चौतर्फी आलोचना



काठमाडौं।बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेश शभामा दिएको अभिव्यक्ति विवादमा परेको छ। नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ४ बाट निर्बाचित सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका थिए ।

वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले अगाडी भने‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?

प्रदेश सांसदको वैद्यको अभिव्यक्तिपछि एमाले नेता–कार्यकर्ताले आपत्ति जनाएका छन् भने काँग्रेस प्रवक्ताले शब्द फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

त्यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको सुरक्षा गर्न जे पनि गर्न तयार रहेको भन्दै कारवाहीको माग गरेका छन् ।

उनले भनेका छन्- ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिराेध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन ।’

प्रतिक्रिया दिनुहोस्