गण्डकी प्रदेश : मन्त्री दीपक मनाङ्गेका कारण मुख्यमन्त्री गुरुङ अप्ठ्यारोमा



काठमाडौं।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गुरुङले बिश्वास मत लिनै लाग्दा प्रदेश युवा तथा खेल कूद मन्त्री दिपक मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेका छन् ।आफैंले मन्त्री नियुक्त गरेका मनाङे आफ्नो अडानमै कायम रहेभने मुख्यमन्त्री गुरुङ अप्ठेरोमा पर्ने अनुमान गरिएको छ।

मनाङेले कित्ता परिवर्तन गरेसँगै अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण मुख्यमन्त्री हटाउन असफल भएको गठबन्धन अब भने आफ्नो पक्षमा बहुमत पुग्नेमा विश्वस्त देखिएको छ । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

गत वैशाख १३ गते शुरू भएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । पछि शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेल प्रमुख नियुक्त नियुक्त गरिएकी थिइन् । अविश्वास प्रस्तावमाथि फेरि वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

गुरुङको राजीनामापछि जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सघाउने पार्टी निर्णय अस्वीकार गरेपछि दोस्रो प्रयास पनि असफल भएको थियो । विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । मनाङेले विपक्षी गठबन्धनले साथ छोडे पनि जनमोर्चाका कृष्ण थापाले साथ दिँदा मुख्यमन्त्रीको पक्षमा २८भन्दा बढी मत पुग्ने सम्भावना देखिएको छैन ।

कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने बताएका विपक्षीको पक्षमा ३० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्