सभामुख सापकोटाले बोलाए सर्बदलीय बैठक



काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

शुक्रबार संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

पत्रमा छलफलको विषयवस्तु नखुलाइए पनि सभामुखले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे दलहरूको धारणा बुझ्न बैठक आह्वान गरेको स्रोतको भनाइ छ । शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठकका लागि बुधबार नै संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र प्रधानमन्त्रीलाई पत्राचार गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ८ जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि सभामुख सापकोटाले पहिलोपटक दलका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउंदै आएका छ्न।

अहिले प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा, नेमकिपा र राप्रपाको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्