एमालेमा ओली,नेपाल र खनालको विकल्प खोज्नुपर्ने योगेश भट्टराई र भीम आचार्यको धारणा



काठमाडौं ।पार्टी एकतालाई टुंगोमा पुर्‍याउने मनसायसहित इमान्दार ढंगले प्रयास गरिरहेका एमालेका दोश्रो तहका नेताहरु शीर्ष नेताहरूविरुद्ध एकढिक्का हुने संकेत देखिन थालेको छ।

पार्टीलाई एकताबद्ध बनाउने इमान्दार प्रयासमा उनीहरु अवरोध बन्न खोजेको निष्कर्षसहित उनीहरू नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध तीब्र आक्रोश व्यक्त गर्न थालेका छन् ।
नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकता हुन नसक्नुका मुल जड शीर्ष नेतृत्व रहेकोतर्फ इंगित गरेका छन्। बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शीर्ष नेतृत्वकै कारण एकता हुन नसकेको भनी प्रश्न गरेका हुन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’ भट्टराईले लेखेका छन्, ‘कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

यस्तै,अर्का नेता भीम आचार्यले पनि केपी ओली, झलनाथ खलाल र माधव नेपाल लगायतका नेताहरू सल्लाहकारका रुपमा बस्नु उपयुक्त हुने धारणा अघि सारेका छन् ।

उनले भनेका छन् -यतिबेला नेकपा (एमाले) को पार्टी एकता गम्भीर संकटमा परेको छ। देशकै प्रमुख पार्टीभित्रको बिबाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धीहरु शंकटमा परेका छन्। राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएको छ। पार्टीलाई एकतावद्ध बनाउदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धि हरु को रक्षा गर्न निम्न काम गर्न आवश्यक छ।

१. २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी माहाधिबेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्ने।

२. क. के.पी. वली, क.झलनाथ खनाल, क.माधव नेपाल, क.वामदेब गौतम र क.अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने।

३. नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन सहयोग गर्ने।

४. पार्टीलाई सामुहिक नेतृत्व,नितीको मार्गदर्शन र बिधिको ब्यबस्था अनुरुप संचालन गर्ने।

प्रतिक्रिया दिनुहोस्