हस्ताक्षर फिर्ता नलिने नेपालको प्रतिबद्धता, प्रदेश-२ र सुदूरपश्चिममा पनि विपक्षीहरु मिलेर अघि बढ्ने

काठमाडौं। एमालेबाट निष्काशित नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफू २०७५ जेठ ३ गते फर्कन तयार रहेको भन्दै पुनर्मिलनका लागि आह्वान गरे पनि आफुहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने बताएका छन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार भएको देउवा र माओवादी अध्यक्ष पुष्पमकल दाहाललाई आश्वास्त पार्दै नेपालले सो कुरा बताएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
देउवाका अनुसार संघमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतसम्म पुगेका विपक्षी दलहरू प्रदेश-२ र सुदूरपश्चिम प्रदेशमा मिलेर अगाडि बढ्ने सहमति समेत बनेको छ ।
केन्द्रमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । त्यही गठबन्धनलाई प्रदेशमा पनि अघि बढाउने सहमति तीन नेताबीच बनेको हो ।
प्रदेश-२ मा जसपा अध्यक्ष यादवनिकट लालबाबु राउत मुख्यमन्त्री छन् । सुदूरपश्चिममा माओवादी नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश-२ मा जसपाभित्र देखिएको विवादका कारण मुख्यमन्त्री राउतले आइतबार जसपाको अध्यक्ष महन्थ ठाकुर निकटका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । सुदूरपश्चिममा एमालको ओली समूहले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट विश्वासको मत लिने अवस्थामा पुगेका छन् ।
देउवालाई भेट्न दाहाल र नेता नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए । यसअघि बिहान पनि माओवादी अध्यक्ष दाहालले बुढानिकलण्ठ पुगेर देउवालाई भेटेका थिए । बिहान एमाले नेता नेपालसँग भेटेर दाहाल सिधै देउवालाई भेट्न पुगेका थिए ।

