ठाकुर पक्षका चारमन्त्री बर्खास्त

जनकपुर ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्।

उपेन्द्र यादवनिकट मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।
जसपाको ठाकुर-राजेन्द्र महतो समूहका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री राउतले आइतवार राति हटाएको पत्र प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराइसकेका छन्।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन्। प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।
विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ।

