एकताका लागि अध्यक्ष ओलीले गरेको प्रस्तावमा योगेश र रामकुमारीको फरक फरक प्रतिक्रिया



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्दै मुलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएपछि खनाल- नेपाल समूहको औपचारिक धारणा कस्तो आउला त्यसको व्यग्र प्रतीक्षा भइ रहेको छ।

आइतबार साँझ एक एकताको आह्वान गर्दै ओलीले पार्टीका सबै कमिटीलाई पूर्ववत अवस्थामा फर्काएर एकताको पक्षमा उभिएका नेतालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटीका संरचना गतिशील बनाइने बताएपछि सो समूहका नेताका अलगअलग धारणा सार्बजनिक भएका छन् ।

अध्यक्षको प्रस्ताव सार्बजनिक भएसंगै खनाल-नेपाल समूहका नेता योगेश भट्टराई र रामकुमारी झांक्रीले सामाजिक सन्जालमार्फत भिन्न खाले प्रतिक्रिया सार्बजनिक गरेका छन् । भट्टराईले अध्यक्ष ओलीले नेकपा एमालेको एकताका लागि सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक रहेको बताएका छन । अध्यक्षको बक्तब्यले पार्टीको शिर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण्ण राख्न मद्घत पुग्ने उनको बुझाई छ।

तर झांक्रीले अध्यक्ष ओलीबाट एकतर्फी रुपमा आएको बक्तब्य झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि भएको आरोप लगाएकी छन् । यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य भएको बताउंदै उनले यसप्रति भ्रममा नपर्न अनुरोध नै गरेकी छन्।

ओलीद्वारा पार्टी एकताका लागि आइतबार गरिएको प्रस्तावमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त भने अगाडि सारेका छन्। साथै उनले पार्टीभित्र भएका गल्ती र कमीकमजोरीलाई लिएर कुनै कारवाही नगरिने र पूर्वाग्रह नराख्नेसमेत प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्