वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने अध्यक्ष बस्नेतको प्रतिबद्धता

काठमाडौं।प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै अब त्यसको अनुगमन कडाइका साथ गरिने बताएका छन् ।

सञ्चारग्रामस्थित काउन्सिलमा आईतवार सपथग्रहण र पदबहाली गर्दै अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन।आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने अध्यक्ष बस्नेतको भनाई थियो।
केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको बताउंदै उनले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको औंल्याए । काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्ने बताउंदै अध्यक्ष बस्नेतले भने, ‘आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ।’
वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने आफ्नो सोच रहेको बताउंदै बस्नेतले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कोभिड–१९ को महामारीका कारण सञ्चारकर्मीले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै उनले त्यसका लागि काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा काउन्सिलका सदस्यसचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिइ सिङ्गो टिम संस्थाको भलाइका लागि लाग्ने बताए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच सहकार्य हुने बताए।
काउन्सिलका सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताए।
दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका बस्नेतलाई मन्त्रिपरिषद्को बैठकले गत बिहीबार काउन्सिलको अध्यक्षमा नियुक्त गरेकाे हाे। उनलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्षमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। उनी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम चार वर्षका लागि नियुक्त भएका हुन् ।

